दफा
अनुसन्धान गरी सवुद प्रमाण सङ्कलन गर्ने
(१) अनुसूची–१ मा उल्लिखित कुनै कसूर भएको वा भइरहेको वा हुन लागेको जानकारी प्राप्त भएमा सम्बन्धित प्रहरी कार्यालयले यथाशिघ्र कम्तीमा प्रहरी नायब निरीक्षक दर्जाको प्रहरी कर्मचारीलाई अनुसन्धान अधिकारी तोकी त्यसको जानकारी सम्बन्धित सरकारी वकिल कार्यालय र आफूभन्दा माथिल्लो प्रहरी कार्यालयलाई दिनु पर्नेछ र त्यसरी तोकिएको अनुसन्धान अधिकारीले त्यस्तो कसूरको अनुसन्धान गर्नु पर्नेछ ।
तर देहायका कसूरको अनुसन्धान गर्न कम्तीमा प्रहरी निरीक्षक दर्जाको अधिकृतलाई तोक्नु पर्नेछः–
(क) अपराध संहिताको भाग–२ को परिच्छेद–१, परिच्छेद–१२, परिच्छेद–१७, परिच्छेद–१८ को दफा २१९, परिच्छेद–१९ को दफा २३०, २३१, २३२, २३३, २३५, २३८, परिच्छेद–२० को दफा २४४, परिच्छेद–२२ को दफा २५६, २५७ र २५८ का कसूर,
(ख) लागू औषध, मानव बेचबिखन तथा ओसार पसार र विदेशी विनिमय सम्बन्धी कसूर,
(ग) नेपाल सरकारले कसूरको गम्भीरता हेरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अन्य कसूर ।
(२) अनुसन्धान अधिकारीले यस दफा बमोजिम अनुसन्धान गर्दा कसूर तथा कसूर भएको ठाउँको यथार्थ चित्रण हुने गरी यथासम्भव निम्न लिखित कुराहरु खुलाई घटनास्थल मुचुल्का तयार गर्नु पर्नेछः–
(क) कसूर भएको मिति र समय,
(ख) कसूर भएको ठाउँको ठेगाना, विवरण र रेखाचित्र,
(ग) त्यस्तो ठाउँको वस्तुस्थिति तथा कसूर वा कसूरदारसँग त्यसको सम्बन्ध,
(घ) कसूर भएको ठाउँ वा त्यसको वरपर देखिएको वा पाइएको दसी प्रमाण र कसूरसँग सम्बन्धित अन्य कुनै उल्लेखनीय कुरा ।
(३) अनुसन्धान अधिकारीले उपदफा (२) बमोजिम घटनास्थल मुचुल्का तयार गर्दा त्यस्तो ठाउँलाई अरु मानिस प्रवेश गर्न नपाउने गरी घेरा हाली यथासम्भव त्यस्ता ठाउँको र त्यस्तो ठाउँमा देखिएको वा पाइएको हत्केला र औँला वा पाइलाको चिह्न, निशाना वा अन्य दसी वा कसूर ठहर गर्न मद्दत पु¥याउने अन्य कुनै महत्वपूर्ण कुराको फोटो समेत लिन सक्नेछ ।
(४) उपदफा (२) बमोजिम घटनास्थल मुचुल्का तयार गर्दा कसूर गर्ने ब्यक्ति वा आरोपित ब्यक्ति उपस्थित भए निजको औंलाको छाप लगायत पहिचान खुल्ने विवरण समेत लिनु पर्नेछ ।
(५) अनुसन्धान अधिकारीले कसूरसँग सम्बन्धित कुनै दसी प्रमाण, सामान वा वस्तु फेला पारेमा त्यसलाई आफ्नो कब्जामा लिनु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम दसी प्रमाण सामान वा वस्तु कब्जामा लिने अधिकारीले सोको भरपाई सम्बन्धित ब्यक्तिलाई दिनु पर्नेछ ।
(७) अनुसूची–२ मा उल्लिखित कसूरको अनुसन्धान गर्न कानूनमा कुनै अधिकारी तोकिएकोमा सोही अधिकारीबाट र त्यस्तो अधिकारी नतोकिएकोमा सम्बन्धित प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृतस्तरको कर्मचारीबाट अनुसन्धान हुनेछ ।
(८) उपदफा (७) बमोजिम तोकिएको अधिकारीले त्यस्तो कसूरको अनुसन्धान गर्दा उपदफा (२), (३), (४), (५) र (६) मा उल्लिखित कार्यविधि पूरा गर्नु पर्नेछ ।
(९) यस परिच्छेद बमोजिम एकै वारदातको अनुसन्धान गर्दा त्यस्तो वारदातबाट चल्न सक्ने सबै मुद्दाको एकै पटक अनुसन्धान गर्नु पर्नेछ ।